काठमाडौं। छोटो समयमै नेपालमा ‘प्यानल बोर्ड’ लाई वैकल्पिक निर्माण सामग्रीका रुपमा परिचित गराएको गोर्खा इको प्यानल प्रालिमा साझेदारहरुबीच फाटो आएको छ।
यससँगै, गोर्खा इको प्यानलका संस्थापक तथा मुख्य लगानीकर्ता ई. कृष्णभक्त दुवाल ६ वर्षअघि आफैंले स्थापना गरेको कम्पनीबाट बाहिरिएका छन्। दुवालसँगै ई. सुबोध त्रिपाठीले पनि गोर्खा इको प्यानल छाडेका छन्।
‘कम्पनी संचालन, कर्पोरेट कल्चर लगायतका विषयमा मतभेद भएपछि अरु साझेदारहरुलाई छोडेर आफैं कम्पनीबाट बाहिरिने निर्णय गरेको हुँ,’ दुवालले भने।
गोर्खा इको प्यानल छोडेका दुवाल र त्रिपाठीले संयुक्त रुपमा ‘इको प्यानल नेपाल प्रालि’ नामको अर्को कम्पनीसमेत दर्ता गरिसकेका छन्। यस कम्पनीले पनि प्यानल नै उत्पादन गर्ने गरी भक्तपुरमा उद्योग स्थापनाको काम गरिरहेको दुवालले जानकारी दिए। ‘उद्योग सेटअपको काम लगभग सकिन लागेको छ । अबको दुई हप्तामा प्यानलको व्यवसायिक उत्पादन नै सुरु गर्ने योजना छ,’ उनले भने।
यो उद्योगको उपकरण खरिदमा मात्र १० करोड रुपैयाँ लगानी भएको बताइएको छ। यसका लागि आवश्यक उपकरण कम्पनीले सोझै चीनबाट मगाएको हो।
इको प्यानल उत्पादनलाई आवश्यक सबै उपकरणहरु चीनबाट आइसकेको र एक हप्ताभित्रमा जडान सकेर परीक्षण उत्पादन सुरु गर्ने तयारी भइरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) समेत रहेका दुवालले बताए।
कम्पनीले दुई किसिमका प्यानल उत्पादन गर्ने जनाएको छ। आठ र नौ फिट लम्बाइ भएका प्यानल उत्पादन हुनेछ। उत्पादन हुने दुईवटा प्यानलमध्ये नेपाल इको प्यानलको मूल्य दुई सय रुपैयाँदेखि चार सय रुपैयाँ पर्ने बताइएको छ।
कम्पनीले उत्पादन गर्ने अर्को एरेटेट इको प्यानल भने भारतीय प्यानलसँग प्रतिस्पर्धा गर्नेगरी २० प्रतिशत सस्तोमा बिक्री गरिने दुवालले जानकारी दिए।