निर्माण सञ्चार, काठमाडौँ | घर निर्माण गर्दा अपरिहार्य मानिने बालुवा, गिट्टी, इट्टा सिमेन्टलगायतका निर्माण सामाग्री बिना नै अब सुरिक्षत घर निर्माण गर्न सकिन्छ ।
छोटो समयमा निर्माण सम्पन्न गर्न सकिने यस्तो प्रविधिको घर प्रिकास्ट प्रविधिको घर हो ।
पछिल्लो समय पूर्वाधार निर्माणमा चामत्कारीक फड्को मारिरहेको चीनमा निकै प्रचलित यस प्रविधिबाटै संरचनाहरु निर्माण हुने गरेको छन् ।
हाल नेपालमा पनि प्रिकास्ट प्रविधिबाट घरहरु निर्माण हुने गरेका छन् ।
जसको प्रयोगबाट परम्परागत सामाग्रीको आवश्यकता पर्दैन । नयाँ प्रविधिबाट निर्माण कार्य गरिरहेको गोर्खा प्रिकास्ट टेक्नोलोजीका अध्यक्ष कृष्णभक्त दुवाल भन्छन्, ‘यस प्रविधिको घर बनाउँदा समयको पनि बचत हुन्छ ।’
आवासीय घर तीन महिनाभित्र तयार हुने उनको भनाइ छ ।
कसरी निर्माण हुन्छ त घर ?
यस प्रविधिको घर निर्माणका लागि पनि आधारभुत परम्परागत प्रविधि (आरसीसी) अनुसार नै जग निर्माण हुन्छ । जगभन्दा माथिको भागमा भने नयाँ प्रविधि प्रयोग हुने अध्यक्ष दुवालले बताए ।
उनकाअनुसार सिमेन्ट र कंक्रिटको पिल्लरको ठाउँमा फलाम राखिन्छ । यसैगरी, पर्खालमा लगाउने इट्टाको रुपमा प्रिफ्याव प्रयोग गरिन्छ भने ढलानको ठाउँमा प्रिकास्ट ढलान स्ल्याब राखिन्छ ।
फलामको पिल्लर राखिसकेपछि त्यसमा इट्टाको प्रयोग उपयुक्त नहुने भएकाले प्रिफ्याबको सिफारिस गर्ने गरेको दुवालले बताए ।
फलाम र प्यानलको साइज र जोड मिल्ने भएकोले भूकम्प जाँदा पनि यस्तो संरचना सुरक्षित रहन्छ । तर, इट्टाको प्रयोग गरेमा फलामसँग सन्तुलन मिलाउन गाह्रो हुन्छ ।
दुवाल भन्छन् ‘विकासित देशमा निकै प्रचलनमा भएपनि नेपालमा सचेतनाको अभावमा उक्त प्रविधिको विस्तार हुन सकेको छैन ।’
‘सुरक्षा, समय र लागतको हिसाबले यो प्रविधि उपयुक्त भए पनि आम मानिसमा घर भनेको इट्टा, सिमेन्ट, बालुवा र गिट्टीको योग हो भन्ने बुझाई रहेको दुवालको भनाइ छ ।’
‘यस्तो प्रविधिबाट घर बनाउँदा घर नै उठाउँदा पनि भत्काउन पर्दैन प्यानल, उनले भने,‘ पिल्लर, झ्याल ढोका फूकालेर ओसारपसार गर्न सकिन्छ’ । यसबाट कुनै नोक्सानी नुहुने उनको भनाइ छ ।
लागत कति ?
अचम्मको कुरा के भने प्रिकास्ट प्रविधिबाट निर्माण गर्दा सानाभन्दा ठूला भवनलाई लागतमा धेरै बचत हुन्छ । ‘साना आवसीय भवन बनाउँदा लागतमा खासै फरक नपरे पनि व्यवसायिक ठूला भवन बनाउँदा सस्तो पर्न जान्छ’ दुवालले भने ।
सामन्यतया आवासीय घर बनाउँदा एक तलामा प्रति वर्गफुट दुई हजार रुपियाँ लागत पर्दछ ।
तर, एक हजार वर्गमिटरको साढे दुई तले घर(साढे दुई तलामा कूल २५ सय विर्गफिट हुन आउँछ) बनाउन चाहेमा जग्गाबाहेक ५० लाख रुपियाँमा घर निर्माण हुने दुवालले जानकारी दिए ।
घरको आकार ठूलो बनाउँदा पनि निर्माण सम्पन्न हुने अवधिमा त्यति फरक पर्दैन ।
परम्पगरागत प्रविधिबाट साढे दुई तलाको घर बनाउँदा नियमित काम हुँदा पनि कम्तिमा ७ महिना लाग्छ । तर, यस प्रविधिको घर निर्माण सम्पन्न ३ महिनाको अवधिमै हुन्छ ।
दुवालका अनुसार प्रिकास्ट प्रविधिमा घरको आकार र साइज जति ठूलो भयो त्यति लागतको दर कम हुँदै जान्छ ।
कस्तो ठाउँमा हुँदैन निर्माण ?
प्रिकास्ट प्रविधि घना तथा भित्री सहरी बस्ती भएको ठाउँमा भने असम्भव नै रहन्छ ।
ढलान स्ल्याब क्रेनले बोकेर ल्याउनुपर्ने भएकोले क्रेन जान र संचालन हुन सक्ने ठाउँमा मात्र यस्तो प्रविधि सम्भव हुने अध्यक्ष दुवालको भनाइ छ ।
Source: Nirmansanchar