काठमाडौं – स्वदेशी वस्तुको उपयोग गर्नुपर्नेमा राजधानीमा आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । सहरी विकास मन्त्रालयले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रगति समिक्षा तथा आर्थिक वर्ष २०७९/८० को कार्यक्रम कार्यान्वयन सम्वन्धी गरेको गोष्ठीमा सहभागीहरुले स्वदेशी वस्तुको प्रयोग गर्न सके मात्रै आयातलाई विस्थापन गर्न सहयोग मिल्ने बताए ।

सहभागी इन्जिनियरहरुलाई कार्यपत्र प्रस्तुत गर्दै नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर कृष्णभक्त दुवालले विदेशी वस्तुहरुको आयातले देश नै संकटतर्फ उन्मुख भइरहेको विषयलाई गम्भीर हुन सहभागी इन्जिनियरहरुलाई अनुरोध गरे ।

उनले यसकारण निर्माण क्षेत्रमा पनि स्वदेशी वस्तुहरुको उपयोगका लागि निर्माणकर्ताहरुलाई सिफारिस गर्न अनुरोध गरे ।  कार्यक्रममा सहरी विकास मन्त्री मेटमणि चौधरीले स्वदेशी वस्तुका उपयोग नीतिलाई सरकारले अगाडि वढाउँदै लगेको बताए । उनले सवै नेपालीलाई स्वदेशी वस्तुको उपयोगका लागि आग्रह गरे ।