काठमाडौँ — भक्तपुरस्थित इको प्यानल उद्योगले उत्पादन थालेको छ । उद्योगले बाहिरी तथा भित्री ‘पार्टेशन वाल’को रुपमा प्रयोग हुने निर्माण सामग्री उत्पादन गर्दछ । भक्तपुरको चाँगुनारायण नगरपालिका झौखेलको १० रोपनी जमिनमा उद्योग स्थापना गरी कम्पनीले उत्पादन थालेको हो ।

झण्डै १५ करोड लगानीमा सञ्चालन भएको यो नेपालकै ठूलो इको प्यानल उद्योग रहेको कम्पनीको दावी छ । इपीएस, बालुवा, सिमेन्ट र दुईतिर क्याल्सिएम सिल्केट बोर्ड राखेर इको प्यानल उत्पादन भएको छ । कम्पनीले नेपालमै पहिलो पटक ‘एरेटेड स्यानवीच इको प्यानल’ बनाउने गरेको दावी गरेको छ ।

यो दुईतिर साढे चार एमएमको क्याल्सिएम सिल्केट वोर्ड र बीचमा बालुवा सिमेन्ट र विशेष प्रकारको हलुका बनाउने केमिकल मिसाएर बनाइने गर्छ । कम्पनीले निकट भविष्यमा यूपीभीसीका झयालढोका पनि उत्पादन गर्ने जनाएको छ । इको प्यानलको उत्पादनमा पेट्रोलियम पदार्थ नभई विद्युतको मात्रै प्रयोग गर्ने गरिएको कम्पनीको भनाइ छ ।

वार्षिक क्षमता पाँच लाख वर्ग मिटर इको प्यानल उत्पादन गर्ने रहेको कम्पनीको दावी छ । निर्माण सामाग्रीको दुनियाँमा पछिल्ला वर्षहरुमा विभिन्न नयाँ नयाँ निर्माण सामाग्रीहरु उत्पादन भइरहेका छन् । यस क्रममा इको प्यानल पनि एक हो । इँटाको विकल्पमा भित्री तथा बाहिरी ‘पार्टेशन वाल’को रुपमा इको प्यानलको प्रयोग हुन्छ । हलुका, भूकम्प प्रतिरोधी लगायतका कारण पछिल्लो समय यसको प्रयोग बढ्दो छ ।

Source- कान्तिपुर, कार्तिक १४, २०७८