घर निर्माणमा ईटाको विकल्पको रुपमा स्यान्डवीच इको प्यानल नेपाली बजारमा आउने भएकाे छ।  इकाे प्यानल नेपालले  निकट भविष्यमै स्यान्डवीच इकाे प्यानल उत्पादन गर्न लागेकाे हाे ।

रिसोर्सेस् एण्ड इन्भाइरोमेन्टल इन्जिनियरिङ  विषयमा चीनको वुहान  युनिभरसिटी अफ टेक्नाेलाेजीमा  पिएचडी गरिरहेका इन्जिनियर कृष्ण भक्त दुवालले ‘इको प्यालन नेपाल’ उद्योग सञ्चालन गर्न लागेका हुन् ।

उनले नेपालमै पहिलो पटक सन् २०१४ मा गोर्खा इको प्यानल उत्पादन शुरु गरेका थिए।

२०७२ काे महाभुकम्पपछि  भुकम्प प्रतिरोधात्मक घर निर्माणको लागि स्यान्डवीच इकाे  प्यानलको प्रयोग बढेको भन्दै नयाँ उद्योग सञ्चालनमा ल्याउन लागेको दुवालले जानकारी दिए ।

‘भुकम्पपछि पनि माग बढिरहेको छ,’ इको प्यानल नेपालका सिइओ दुवालले भने ‘भुकम्पपछि हलुका निर्माण सामाग्रीबाट घर बनाउनु पर्छ र घर निर्माण छिटो छरिताे सक्न स्यान्डवीच इकाे प्यानल प्रयोग गर्नुपर्छ भन्ने ट्रेन्ड बसेको छ।’

इको प्यानल नेपाल २ महिनापछि सञ्चालनमा आउँदैछ। उद्योगले ‘इपिएस बेस’ इको प्यानल र ‘फोमिङ वेस’ एरेटेड इकाे प्यानल गरी दुई प्रकारको इकाे प्यानल निर्माण गर्दैछ।

इपिएस बेस इको प्यानल नेपालमै उत्पादन भएपनि फोमिङ वेस एरेटेड  इकाे प्यानल भारतबाट आयात हुँदै आएको छ।

‘भारतबाट आइरहेको एरेटेड प्यानललाई केहिहदसम्म विस्थापित गर्न हामीले  स्यान्डवीच एरेटेड  इकाे प्यानल उत्पादन शुरु गर्न लागेका हौं,’ दुवाले भने ।

दुवै प्रकारको स्यान्डवीच इकाे प्यानलको लम्बाई ८ फिट वा ९ फिट र चौडाई २ फिटको हुनेछन्। माेटाइकाे हकमा २, ३ र ४ इन्चकाे हुनेछ।

बालुवा, सिमेन्ट, इपिएस (थर्मकोल), विशेष प्रकारकाे  एडेटीभ लगायत ४.५ मि.मि क्याल्सियम सिलिकेट बाेर्ड प्रयाेगगरी इकाे प्यानल बनाइने छ।

स्यान्डवीच एरिटेड इकाे प्यानलमा बालुवा,सिमेन्ट , फोमिङ एजेन्ट र क्याल्सियम सिलिकेट बाेर्डकाे प्रयाेग हुन्छ।

‘टङ्ग एण्ड ग्रुभ’ जडान प्रणाली भएको स्यान्डवीच इको प्यानलबाट घर बनाउन छिटो र सहज हुने दुवाल दावी गर्छन्।

नेपालको भु–वनोटको आधारमा यस्ता स्यान्डवीच इकाे प्यानल प्रयाेगगरी घर  बनाउन उपयुक्त हुने देखिन्छ। सर्वसाधरणमा इकाे प्यानल सम्बन्धी धारणा  भुकम्पपछि विकासित भएको दुवालले बताए।

इको प्यानल बनाउँदा क्लिन एनर्जी मात्र प्रयाेग हुने भएकाले घर निर्माण वातावरण मैत्री  हुने बताए । इको प्यानल इनर्जी इफिसेन्ट हुनका साथै थर्मल्ली इन्सुलेटेड  रहेको हुँदा समय सापेक्ष रहेको छ।

भक्तपुर चाँगुनारायण नगरपालिकामा रहेको उद्योगकाे उत्पादन क्षमता  वार्षिक १ लाख वर्ग मिटर  रहेको कम्पनीले बताएको छ ।

दुवै प्रकारकाे स्यान्डवीच इको प्यानल आरसिसि र स्टिल स्टक्चर प्रयोगगरी बनाउने सबै प्रकारकाे  घरमा प्रयोग गर्न सकिन्छ। आरसिसि र स्टिल स्टक्चरबाट बन्ने  ठुला कम्प्लेक्स, अपार्टमेन्ट, हस्पिटलमा बाहिरी तथा भित्री पार्टेसन वालकाे रूपमा प्रयोग गर्न सकिन्छ। कसैले स्थाई तथा अस्थाई घरमा टहरा निर्माण गर्दैछ भने त्यसको लागि इको प्यानल उपयुक्त हुन्छ।

Source- Engineers Nepal