नेपाल इको प्यानलबारे बताइदिनुस् न ?
नेपाल इको प्यानल भनेको वैकल्पिक निर्माण सामग्री हो । जुन वातावरणमैत्री, हलुका र भूकम्प प्रतिरोधी हुन्छ । यसमा थर्मल इन्सुलेसन हुन्छ । बाहिर चिसोपन वा तातोपन भए पनि भित्र आउन दिँदैन ।

उद्योग कहिले सुरु गर्नुभयो ?
उत्पादन सुरु गरेको चाहिँ एक वर्ष भयो, उद्योग सुरु गरेको भने दुई वर्ष भइसक्यो ।

पहिले गोर्खा इको प्यानलमा हुनुहुन्थ्यो ?
हो, सन् २०१४ देखि २०२० सम्ममा मैले गोर्खा इको प्यानलमा काम गरेँ । अहिले आफैंले नेपाल इको प्यानल सुरु गरेको हुँ । गोेरखा इको प्यानल र नेपाल इको प्यानलको उत्पादन उस्तै हो । यसको दुईतिर सिमेन्ट बोर्ड, भित्र बालुवा, सिमेन्ट र थर्मकोल हुन्छ । भित्री भागमा रहने बालुवा, सिमेन्ट र थर्मकोल मिसाउने विशेष प्रकारको केमिकल्स हुन्छ । प्यानल दुई फिट बाई आठ फिटको हुन्छ ।

भनेपछि यसमा आयातित कच्चा पदार्थ पनि प्रयोग हुन्छ ?
बालुवा, सिमेन्ट नेपालमै हुने भयो तर थर्मकोल, केमिकल र सिमेन्ट बोर्ड भने बाहिरबाटै आउँछ । सिमेन्ट बोर्ड भारतबाट आउँछ । चीनबाट पनि ल्याउन सकिन्छ । पहिले चीनबाटै आयात गर्ने गथ्र्यौँ तर नाकामा समस्या आएपछि विकल्पको खोजी गर्दा भारतमा पनि पाइने रहेछ । अहिले भारतबाटै ल्याउने गरेका छौँ । विगतमा कोरियाबाट पनि ल्यायौँ ।

स्वदेशी कच्चा पदार्थ प्रयोग कति प्रतिशत हुन्छ ?
६० देखि ६५ प्रतिशत हुन्छ । स्वदेशी इको प्यानलमा टिकाउपन बढी छ । हामीले उत्पादनमा ७० वर्षको वारेन्टी दिएका छौँ । किनभने यसको आयु पनि सिमेन्टको आयु जस्तै हो ।

ग्राउण्ड फ्लोरमा पनि प्रयोग गर्न सकिन्छ ?
स्ट्रक्चरल संरचना भएको जुनसकै ठाउँमा प्रयोग गर्न सकिन्छ । सिमेन्ट पिल्लर वा फलामको स्ट्रक्चर भएको ठाउँमा पनि प्रयोग गर्न सकिन्छ । किनभने यो इण्डियन प्रिफ्याब जस्तो कमजोर हुँदैन । भूकम्पपछि इण्डियन प्रिफ्याबका कारण प्रिफ्याबप्रति आशंका बढेको थियो ।

निर्माणमा कंक्रिटभन्दा इको प्यानल सस्तो हो ?
कंक्रिटसँग तुलनाभन्दा पनि इँटाको वालको हिसाब गर्ने हो भने १० देखि १५ प्रतिशत सस्तो पर्न जान्छ । यसमा प्लाष्टर गर्नुपर्दैन, निर्माण कार्य पनि छिटो हुन्छ । इँटाको वाल फिनिसिङमा छजना डकर्मी र छजना कामदार लाग्छ भने सोही प्रकृतिको इको प्यानलको वाल भने दुईजनाले गर्न सक्छ । अर्को फाइदा भनेको कोठाको स्पेस बढ्ने भयो । भत्काएर अर्को ठाउँमा पनि लैजान सकिने भयो ।

सबै कच्चा पदार्थ यहीँ उत्पादन कत्तिको सम्भव छ ?
असम्भव त छैन तर ठूलो लगानी आवश्यक पर्छ । खासगरी यसमा प्रयोग हुने सिमेन्ट बोर्ड उत्पादनको लागत बढी छ । तर, थर्मकोल भने यहीँ रिसाइकल गर्न सकिन्छ । त्यसो त लागत घटाउन सिमेन्ट बोर्डको विकल्पमा पनि हामीले अध्ययन-अनुसन्धान सुरु गरेका छौँ । त्यो भयो भने सिमेन्ट बोर्डमा लाग्ने लागत ३० प्रतिशतले घट्न सक्छ ।

माग कत्तिको छ ?
माग बढ्दोक्रममा रहेको छ । कंक्रिट बिल्डिङमा पनि किन गह्रौं इँटाका वाल लगाउने भन्ने सोचको विकास हुँदै गएको छ । त्यसैले माथिल्लो तलामा कोठा थप्नुपरेमा विकल्पमा इको प्यानलप्रति आकर्षण बढेको छ । हाइड्रोपावर, आर्मी क्याम्प, ट्रेकिङ रुटका रिसोर्टमा पनि प्रयोग हुने गरेको छ । तथापि कोरोना महामारी र आर्थिक मन्दीसँगै समग्र निर्माण सामग्रीको बजार प्रभावित भएको छ ।

आयातित इको प्यानलसँग कसरी प्रतिस्पर्धा गरिरहनुभएको छ ?
आयातित प्रिफ्याबसँगको प्रतिस्पर्धा चुनौतीपूर्ण छ । भारतबाट पनि आइरहेको छ, मुख्य प्रतिस्पर्धा नै भारतीय उत्पादनमा हो । तर, भारतीय उत्पादन नेपाली जस्तो गुणस्तरीय छैनन् ।