काठमाडौं । इँटाले उत्पादनशील माटोको नाश गर्ने भन्ने बुुझेपछि यसको विकल्पमा वातावरणमैत्री निर्माण सामग्री कसरी बनाउन सकिन्छ भनेर सोधखोजमा लागेका इन्जिनियर कृष्णभक्त दुवाल तब ढुक्क भए जब उनले इको प्यानलबाट घर निर्माण गर्न सकिन्छ भनेर ढुुक्क भए । नेपालमा वातावरणमैत्री निर्माण आवश्यक रहेको भन्दै सन् २०१४ देखि खोजबिन गर्दै बहराइन, कोरिया, इटाली, किर्गिस्तान, चीनमा अध्ययन भ्रमण गरेका दुवालको संलग्नतामा नेपालमा गोर्खा इको प्यानलको स्थापना भएको थियो ।

आफैंले स्थापना गरेको गोर्खा कम्पनीबाट बाहिरिँदै इन्जिनियर दुवालले इको प्यानल नै उत्पादन गर्ने नेपाल इको प्यानल कम्पनी खडा गरेका छन् ।

‘इको प्यानल नेपाल प्रालि’ नामको अर्को कम्पनीसमेत दर्ता गरी भक्तपुरको झौखेलमा उद्योग स्थापनागरी काम थालिसकेको छ । ‘उद्योग सेटअपको काम लगभग सकेर अबको दुई सातामा प्यानलको व्यावसायिक उत्पादन नै सुरु गरी बजारमा ल्याउने तयारीसमेत थालिसकेको छ ।

यो उद्योगको उपकरण खरिदमा मात्र १० करोड रूपैयाँ लगानी भएको बताइएको छ । यसका लागि आवश्यक उपकरण कम्पनीले सोझै चीनबाट मगाएको हो ।

कम्पनीले दुई किसिमका प्यानल उत्पादन गर्ने जनाएको छ । आठ र नौ फिट लम्बाइ भएका प्यानल उत्पादन हुने इन्जिनियर दुवालले बताए । उत्पादन हुने दुईवटा प्यानलमध्ये नेपाल इको प्यानलको मूल्य २ सय रूपैयाँदेखि ४ सय रूपैयाँ पर्ने बताइएको छ ।