स्वदेश चिन्ने उद्धेश्यले हामी पनि निस्कियौं लो–मन्थाङ यात्रामा । कृष्णराम देउपाला, प्रविण नगरकोटी र म सहितको सानो टोली आफ्नै सवारी साधनमा हुँइकियौं।

पहिलो दिन हामी पोखरा पुग्यौं । बास पोखरामा बसे पनि मन लो–मन्थाङ पुगिहाल्यो । दिउँंसो काठमाडौंबाट हिँडेका हामीले मुस्ताङको कल्पनामा रात वितायौं।

बिहानै पोखराबाट हिँड्यौं । लुम्लेको चिसो हावा खाँंदै । माछापुच्छे र अन्नपूर्ण हिमालमा परेको कलिलो घामले लोभ्यायो । हामी कुश्मा बजार, बेनीबजार हुँदै मुस्ताङ सदरमुकाम जोमसोम भएर छुक्साङ पुग्यौं।

जोमसोमदेखि छुसाङसम्म यात्रामा मान्छे नै उडाउने जस्तो हावाको गति देख्दा वायु उर्जाको सम्भावना आँकलन गर्यौं । ताङ्वे भन्ने ठाउँंमा हावाको गति मापन गर्ने उपकरण जडान गर्दै गरेको देख्दा हामी नेपाली कति ढिला छौ भन्नेमा दुःख लाग्यो । जबकि विण्ड टर्बाइन (वायुबाट उर्जा निकाल्ने प्रविधि) डिजाइन गरेर राख्न न्युनतम आठदेखि १० वर्षको हावाको गति र दिशाको तथ्यांक चाहिन्छ ।

त्यो रात छुक्साङमै बस्यौं । त्यहाँ रैथाने गुरुङ भन्दा विदेशी पर्यटक र  सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट लगायत जिल्लाबाट आएका कामदार बढी देख्यौं । नेपालमै वसेर पनि यथेष्ट आम्दानी हुँंदो रहेछ भन्ने अनुभब उनीहरुले सुनाएपछि खुशी भयौं । हो त नि नेपालमै बसेर हामी नेपालीले पसिना चुहाउनु पर्छ । बल्ल देश बन्छ।

हामी सवेरै उठेर चिया खाँंदा दक्षिणमा हिमाल देख्दा चकित भयौं । पहेँंला उजाड पहाडमा  हावाको वेग कुँदेर विभिन्न आकृति बनाएको पनि देख्यौं।

छुक्साङबाट उपल्लो मुस्ताङ जाने दुई बाटा छन् । एउटा ठूला मालबाहक ट्रक कालीगण्डकी भएर जान्छ र अर्को साना गाडी पहाड  छिचोल्दै । अलिक पर्तिर पुल विनाको कालीगण्डकी तर्न साहस चाहिँदो रहेछ । हामीले पहाडको बाटो रोज्यौं ।
यात्रामा ठाउँंठाउँंमा वस्ती भेटिए, खोलाका तिरमा । यसबाट मानव वस्तीको विकास पानीको श्रोत भएको खोला किनारमा हुँंदो रहेछ भन्ने प्रष्ट भयो।

समर गाउँंको उकालो चढ्दा बाटो कम खतरनाक थिएन । पहाडलाई खोपेर बनाइएको बाटो साँंघुरो मात्रै थिएन वरु भिरको साइडमा कुनै बारको व्यवस्था नहुँदा डर लाग्यो।

कालीगण्डकी कोरिडोरलाई भारत र चीन जोड्ने छोटो मार्गका रुपमा लिइन्छ । यही कारण नेपाल सरकारले यसलाई प्राथमिकताकासाथ स्तरोन्नति गरिराखेको भेट्टायौं । सप्ठेरो ठाउँंको हरेक आठ दस किलोमिटर वीचमा एक्साभेटरबाट बाटो खनिरहेको देख्यौं । तर अप्ठेरो भीरमा कतै काम भएको देखिएन । हाम्रा  योजनाविद्को राजधानीमा बसेर गर्ने योजना कति खोक्रा हुन्छन् भन्ने देखियो।

विहान सात वजे छुक्साङबाट हिँडेका हामी ५० किलोमिटर यात्रा गरी दिउँंसो झण्डै १२ बजेतिर चराङ पुग्यौं । त्यहाँ खाना खाएर लो–मन्थाङ हुँदै चीनको सीमा कोरला नाकासम्म पुग्यौं । नाकामा नेपाल र चीनवीच सिमाना छुटाउन जंगे पिलरका साथै काँंडेतार बारिएको रहेछ।

नेपालपट्टिको भन्सार कार्यालय कोरला नाका भन्दा करिब ५ किमिवरै छोसेरमा रहेछ । चीनको भने नाकाको मुखैमा छ ।
कोरलाबाट फर्किँदा छोसेर गाउँको पहाडमा कोपेर बनाइएका घर देख्दा अचम्म लाग्यो । पहाडमा गुफा बनाई प्वाल पारेर झ्याल ढोकासहितको बस्ने कोठा पनि देखियो । मानव सभ्यताको विकास क्रममा हजारौं वर्ष पहिला तिनीहरुले प्रयोग गरेका भाँडा लगायतका ऐतिहासिक सम्पदा अलपत्र भेटियो । यिनको संरक्षण र अध्ययन गर्नमा हामी नेपाली नै अघि सर्नु पर्छ ।

लो–मन्थाङमा नम्बर प्लेट बिनाको चाइनिज बाइक र चाइनिज नम्बर प्लेट भएका चीनियाँ चढेका गाडी देख्दा तिब्बत पो आइपुगियो कि भन्ने लाग्यो । हामीले त्यहाँ दरबार पनि हेर्यौं ।

त्यो दिन फर्केर चराङ भन्ने ठाउँमा बस्यौं । चराङ गुम्वाको भित्तामा राम्रो खालको पेन्ट गरिएको थियो । यस्तो कलाकारिता अन्यत्र नहोस् भन्ने उद्देश्यले कलाकारको हात काटिएको कथा सुन्न पाइयो ।

गाउँमा मुखिया प्रथा जिवितै रहेछ । भोलिपल्ट हामी विहानै जोमसोमका लागि हिडयौ । बाटोका चियापसलमा  एलपीजी ग्यास सिलिन्डर देख्दा एकातिर नेपालीको आर्थिक समृद्धि देखेर खुशी लाग्यो भने अर्काेतिर नवीकरणीय उर्जा ‘गुइठा’ को अथाह सम्भाबना भए पनि त्यसको प्रयोग नभएको देख्दा दुःख लाग्यो । होटलका लागि सिजनमा एकैचोटी दर्जनौं ग्यास सिलिन्डर किन्दा रहेछन् । भारतीय नाकावन्दीका बेला छोराछोरीलाँई काठमाडौंमा ग्यास पठाएको सुनाए केही होटलवालाले।

छुक्साङमा स्याउका झुप्पा देख्यौं । रसिला र गुलिया । त्यहाँबाट हामी दिउसो दुईवजेतिर जोमसोम पुग्यौं । जोमसोमका सरकारी कार्यालयमा छलफलमा पुग्यौ । सरकारी कार्यालय परिसरभित्रै मुखियाको कार्यालय लेखेको साइनबोर्ड देख्दा मुस्तांङमा अझै प्रजातन्त्र नआएको हो कि भन्ने लाग्यो । त्यो साँझ जोमसोममै बस्यौं ।

मुस्ताङ चरन क्षेत्र वढी भएकाले भेडा पालनको प्रचुर सम्भावना रहेछ । घासा नाकाबाट आर्थिक वर्ष ०७३।०७४ मा १८ हजार भेडा बेच्न तल झारिएको तथ्याङक छ । जबकि पशुविज्ञ भन्दै थिए कि पुरै जिल्लामा वार्षिक बार्षिक दुई लाख भन्दा बढी भेडा चराउने चरन क्षेत्र छ ।

मार्फा गाउँमा राजा महेन्द्रले २०२३ सालमै शितोष्णा वागवानी बिकाश केन्द्र स्थापना गरी फलफूल र तरकारी उत्पादनको पहल गरेको थाहा पायौं । राजा महेन्द्रको दुरदर्शिता महशुश भयो।

हामी विहानै जोमसोमबाट पोखरातिर हिँड्यौ । हामीले मार्फामा ओखर किन्यौं किलोको १५ सय रुपैयाँमा । किसानले ओखरबाट बार्षिक लाखौं आम्दानी गर्दा रहेछन्। हेर्न, सिक्न र रमाउन धेरै कुरा रहेछ मुस्ताङमा।

Source: Nagarik daily