भक्तपुरमा १० करोड लगानीमा ठूलो इको प्यानल उद्योग संचालनमा आएको छ । भक्तपुर जिल्लाको चाँंगुनारायण नगरपालिका वडा नं ४ झौखेलस्थित १० रोपनी क्षेत्रफलको जमिनमा उक्त उद्योगले उत्पादन थालेकाे हो । कम्पनीले लकडाउनकाबीच काम सुरु गरी अहिले उत्पादन समेत थालिसेको हो । इको प्यानल नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर कृष्णभक्त दुवालले आफूहरुको उत्पादन वातावरणमैत्री भएको बताएका छन् । प्रस्तुत छ इको प्यानल नेपाल प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत ई. कृष्णभक्त दुवालसँग उनकाे यस व्यवसायकाे विषयमा गरिएकाे कुराकानी:

इको प्यानल उद्योग रोज्नुकै कारण के हो ?

म वातावरणको विद्यार्थी भएको नाताले विगत लामो समयदेखि वातावरण मैत्री प्रविधिको विकासका माध्यमबाट समृद्ध राष्ट्र बनाउन सकिन्छ भनेर अध्ययनगर्दै आएको थिए । लामो समयको अध्ययन अनुसन्धानबाट म लगायत केही साथीहरूको सहकार्यमा इको प्यानल नेपाल नामक उद्योग स्थापना गरी व्यवसायिक उत्पादन गर्ने तयारी गरिरहेका छौं । वातावरण मैत्री सुन्दर, शान्त र सुरक्षित समाजको स्थापनाले मात्रै समृद्ध राष्ट्र बन्न सक्छ भन्ने हाम्रो मुल लक्ष्यलाई पूरा गर्नका लागि वातावरण मैत्री उद्योग स्थापना गरेका हौं । नेपालमा छोटो छोटो समयमा व्यवस्था परिवर्तन हुँदै आए पनि आर्थिक क्रान्ति र वातावरण जोगाउने अभियान कोही कसैले गरेका छैनन् । नेपाल मात्रै होइन, विश्व नै वातावरणीय जोखिमको अवस्थामा पुगेको छ ।

हाम्रै विकास र प्रविधिले सिर्जित गरेका समस्याको न्युनिकरणका लागि विश्वका विकसित राष्ट्रहरूले प्रभावकारी कदम चालिरहेको अवस्थामा नेपाल जस्तो अल्पविकसित राष्ट्रको सरकार र निजी क्षेत्रबाट यस क्षेत्रमा खासै चर्चा र बहस भएको सुनिँदैन । टाढा जानै पर्दैन, दशैंको उल्लास नसकिँदै देशभर बेमौसमी वर्षादका कारण निम्तिएको विनास पनि वातावरणीय दोहनकै परिणाम हो । विश्वभर जयवायु परिवर्तन र वातावरणीय असन्तुलनका कारण प्राकतिक प्रकोप र अन्य किमिसका क्षतिहरू बढ्दै गएका छन् । यस्तो अवस्थामा वातावरणीय सन्तुलन कायम गर्ने किमिसको उद्योग स्थापना गरेर हरित क्रान्तिको माध्यमबाट आर्थिक क्रान्ति गर्न सकिन्छ भन्ने उद्देश्यले नै हामी यस उद्योग स्थापनातिर आकर्षित भएका हौं ।

नेपालमा इको प्यानलको बजार कस्तो छ ?

खासगरी विनासकारी ०७२ को भूकम्पपछि भूकम्प प्रतिरोधी संरचना निर्माणको बहस शुरु भएको हो । परम्परागत शैलीमा निर्माण गरिएका संरचना र संरचना बलियो बनाउने बहानामा कंक्रिटको थुप्रो लगाउँदा आफैंले निर्माण गरेका संरचनाबाट ज्यान जोगाउनु पर्ने अवस्था सिर्जना भएको वास्तविकतालाई भुल्न मिल्दैन । प्राकृतिक विपत्तिले दिएको शिक्षालाई आत्मसाथ गर्दै पछिल्ला दिनमा यस्ता प्रकृतिका उद्योगहरू स्थापना गर्नुपर्छ भन्ने सकारात्मक सोच राख्नेहरूको संख्या बढ्दै गएको छ । व्यक्तिगत र संस्थागत रुपमा भूकम्प प्रतिरोधी संरचना निर्माण गर्ने सोचमा वृद्धि हुँदै गएको हुँदा पछिल्लो पुस्ताले प्रविधिमैत्री र प्राकृतिक प्रकोप प्रतिरोधी निर्माणलाई प्राथमिकता दिने विश्वास हामीले लिएका छौं ।

के हुन् त इको प्यानलका विशेषता ?

पहिलो कुरा त यो वातावरणमैत्री उत्पादन हो । इको प्यानल उत्पादनका लागि शतप्रतिशत क्लिन इनर्जी मात्रै प्रयोग हुन्छ । प्यानलको उत्पादनमा कोईलालगायतका ईन्धन प्रयोग नगरी विद्युतको मात्रै प्रयोग गरिने भएका कारण यसले वातावरणमा कुनै असर पु¥याउँदैन । इको प्यानल भनेको बाहिरी तथा भित्री पार्टेशन वालको रुपमा प्रयोग हुने निर्माण सामाग्री हो । यो इटाको विकल्पमा प्रयोग हुने पछिल्लो समय वढी प्रयोगमा आएको निर्माण सामाग्री हो । यी प्यानलहरू इटाजस्तो सानासानो नभई स्ल्याब जस्तो ठूलाठुला हुन्छन् । यसले गर्दा तीव्र निर्माण पनि सम्भव हुन्छ । इपीएस (चलन चल्तीको भाषामा थर्मोकोल), बालुवा, सिमेन्ट र दुईतिर क्याल्सिएम सिल्केट बोर्ड राखेर इको प्यानल उत्पादन हुने गर्दछ । निर्माण सामाग्रीको दुनियाँंमा पछिल्ला वर्षहरूमा विभिन्न नयाँंनयाँं निर्माण सामाग्रीहरू उत्पादन भइरहेका छन् । यस क्रममा इको प्यानल पनि एक हो । इटाको विकल्पमा भित्री तथा बाहिरी पार्टेशन वालको रुपमा इको प्यानलको प्रयोग हुन्छ । हलुका, भूकम्प प्रतिरोधी, अग्नी प्रतिरोधी, ध्वनी प्रतिरोधी हुनुलगायतका कारण पछिल्ला समय इको प्यालनको लोकप्रियता बढ्दै गएको छ ।

उद्योग स्थापनाका क्रममा कुनै झन्झट त व्यहोर्नु परेन नि ?

नेपालमा राजनीतिक दल खोल्नुभन्दा सामान्य उद्योग खोल्न झन्झट छ । सरकारले तेस्र्याका कानुनी झन्झटलाई छिचोलेर उद्योग स्थापना गर्नुपर्ने अवस्था एकातिर छँदैछ भने अर्कोतिर प्रतिस्पर्धाका नाममा अस्वस्थ प्रतिस्पर्धा अर्को समस्याको रुपमा तेर्सिएको छ । इको प्यानल नामक कम्पनी स्थापना भएपछि दर्ताको विषयलाई लिएर उच्च अदालत पाटनमा समेत अराजक समूहबाट मुद्दा दर्ता गर्ने काम भयो । हामी कानुनलाई अक्षरस पालना गर्ने जिम्मेवार नागरिक हौं । कानुनले दिएको अधिकारलाई प्रयोग गरेर कम्पनी दर्ता गरेका कारण अदालतले समेत हाम्रो पक्षमा फैसला गरेको अवस्था छ । मुद्दा खारेज भइसकेको अवस्था छ । पूर्ण फैसला लेखनको कार्य प्रक्रियामै रहेका कारण यसबारेमा म पूर्ण फैसला आइसकेपछि आम जनमानसमा विस्तृत रुपमा बताउने नै छु । बजारमा हामी गुणस्तरीय उत्पादनका साथ स्वस्थ प्रतिस्पर्धा गर्न आएका हौं । कसैसँग पौठेजोरी खैल्न आएका होइनौं ।

उद्योग स्थापनाका लागि कति पुँजी लगानी गर्नुभयो ?

प्रारम्भिक रुपमा अहिलेसम्म करिब १५ करोड लगानी भएको छ । अझै लगानी बढ्ने देखिन्छ । कम्पनीको वार्षिक क्षमता पाँंच लाख वर्ग मिटर इको प्यानल उत्पादन गर्ने योजना रहेको छ ।

सरकारले यस प्रकृतिका उद्योगहरूलाई कसरी सम्बोधन गर्नुपर्ला ?

निश्चय पनि यस प्रकृतिका उद्योगहरू नेपाल र नेपालीका लागि नयाँ हो । लगानीकर्ता, प्रयोगकर्ता र नियमनकारी निकायका लागि नयाँ विषय भएका कारण यसप्रति राज्यको अझै पनि सकारात्मक दृष्टिकोण बनिसकेको छैन । पछिल्लो समय राज्यका संरचनाहरूमा यसको प्रयोग बढ्दै गएको भए पनि यसलाई हेर्ने दृष्टिकोण भने अझै पनि सकारात्मक छैन । हाम्रै पहलमा सरकारमा विभिन्न निकायहरूमा यसको महत्व र आवश्यकताका बारेमा झकझक्याउने काम हुँदै आएको छ । राज्यले जबसम्म यसको महत्व बुझ्ने र सोही अनुसारको व्यवहार गर्दैन तबसम्म अन्य क्षेत्रले पनि सकारात्मक दृष्टिकोण बनाउँदैन । स्वदेशी लगानीमा वातावरणमैत्री उद्योग स्थापना हुँदा सरकारले यस्ता उद्योगलाई प्रवद्र्धन गर्ने किसिमका कार्यक्रम ल्याउन जरुरी छ । मुलुक संघीयतामा गएपछि गठन भएका तीनै तहका सरकारबाट निर्मित संरचनाहरूमा यस्ता किसिमका उत्पादनको प्रयोग बढ्न सक्यो व्यक्तिगत तथा अन्य निजी क्षेत्रबाट निर्मित संरचनामा पनि यसको प्रयोगप्रतिको आकर्षण बढ्नेछ ।

तसर्थ तीनै तहका सरकारले यस्ता प्रकृतिका उद्योगलाई बचाउने किसमको कार्यक्रम ल्याउन जरुरी छ । खुसीको कुरा मान्नुपर्छ संघीय संसदको प्रतिनिधिसभाको महत्वपूर्ण समिति, विकास तथा प्रविधि समितिको मिति २०७८ असोज १८ मा सम्पन्न १२६औं बैठकले भूकम्प प्रभावित जिल्लाहरूमा पुननिर्माण कार्यमा प्रयोग गरिएको भूकम्प प्रतिरोधी प्रविधि नेपालका सबै जिल्लाहरूमा प्रयोग गरी निजी आवास लगायत पूर्वाधार निर्माणका कार्यहरूलाई दिगो र सुरक्षित बनाउने वातावरण सुनिश्चित गर्न शहरी विकास मन्त्रालयलाई निर्देशन जारी गरेको छ । यो कार्यान्वयनमा आउन सक्यो भने पनि यस्ता प्रकृतिका उद्योगको संख्यामा मात्र वृद्धि हुँदैन प्रयोगकर्ताहरूको संख्यामा पनि वृद्धि हुन गई वातावरण मैत्री, सुरक्षित र शान्त नेपालको स्थापना हुन मद्दत पुग्नेछ