काठमाडौं, २२ जेठ । वातावरणमैत्री निर्माण सामग्रीको प्रयोग सम्बन्धि कार्यशाला गोष्ठी राजधानीमा सम्पन्न भएको छ ।

क्याथफोर्ड इन्टरनेशल कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टको आयोजनामा स्वदेशमै उत्पादित इको प्यानलको प्रयोगकोबारे कार्यशाला गोष्ठी सम्पन्न भएको हो ।

कार्यक्रममा सहभागी नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत ईन्जिनियर कृष्णभक्त दुवालले पछिल्लो समयम आधुनिक निर्माण सामाग्रीको रुपमा विकास भएको इको प्यानलका विविध विशेषताहरुबारे सहभागी इन्जिनियरिङका विद्यार्थीहरुलाई जानकारी गराए ।

इको प्यानल भूकम्प प्रतिरोधी मात्रै नभई वातावरणमैत्री पनि रहेकोले यसको प्रयोगबारे जनचेतना फैलाउनुपर्नेमा उनले जोड दिए ।

इको प्यानलको उत्पादन धुलोधुँवारहित वातावरणमा क्लिन इनर्जी   (बिजुली ) को मात्र प्रयोग भई बन्ने भएकोले यो पूर्ण वातारणमैत्री रहेको ईन्जिनियर दुवालले बताए ।

कलेजको सिभिल इन्जिनियरिङ विभागका प्रमुख डा दिनेश  सुन्कामनीले कलेजका विद्यार्थीले नयाँं प्रविधिका निर्माण सामाग्रीबारे जानकारी पाएकोमा खुशी व्यक्त गर्दै अहिलेको समयमा वातावरणमैत्री निर्माण सामाग्रीको प्रयोगमा जोड दिए ।

इको प्यानल भनेको भित्री तथा वाहिरी पार्टेशन वालको रुपमा स्थायी वा अस्थायी संरचनामा प्रयोग हुने निर्माण सामाग्री हो । यो हलुका हुनुका साथै भूकम्पप्रतिरोधी पनि हुन्छ ।

कारखानामा पहिला नै बनाई निर्माणस्थलमा जोडे मात्रै पुग्ने भएकाले यसबाट तीव्र निर्माण सम्भब हुन्छ । यसकारण २०७२ सालको महाभूकम्पपछि यसको माग देशैभरि रहेको छ ।

Source: Newsabhiyan