२०७२ सालको महाभूकम्पले भत्केका भौतिक संरचनाहरुको तीव्र पुनर्निर्माण गर्न जोड दिइएको छ। ग्रिल तथा स्टील व्यवसायी संघ भक्तपुरको शनिबार भएको नवौं वार्षिक साधारणसभाका वक्ताहरुले भूकम्प गएको यति लामो वर्ष हुँंदा पनि अहिलेसम्म पुनर्निर्माणले पूर्णता पाउन नसकेको भन्दै दुःख व्यक्त गरे। त्यसकारण पुननिर्माण तीव्रता दिनुपर्ने आवश्यकता उनीहरुले औंल्याए। वक्ताहरुले छिटो निर्माणका लागि इको प्यानलको प्रयोगमा जोड दिए।

ग्रिल तथा स्टिल व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष मोहन कटुवालले भूकम्पपछिको तीव्र पुनर्निर्माण आवश्यक भएको बताए। जसरी भए पनि भूकम्पले क्षति पुगेका भौतिक संरचनाको पुनर्निर्माण यथाशक्य छिटो हुनुपर्नेमा उनले जोड दिए। त्यसका लागि छिटो निर्माण सम्पन्न गर्न सकिने निर्माण सामग्रीहरुको प्रयोग उपयुक्त हुनसक्ने उनले बताए। तीमध्ये इको प्यानल पनि एक भएको उनले सुनाए।

नयाँं प्रविधि भित्र्याउन सरकारले केही सहुलियत दिनुपर्ने खाँंचो उनले औंल्याए। उनले फलामजन्य वस्तुको अनियन्त्रित मूल्यवृद्धिलाई नियन्त्रण गर्न पनि सरकारको ध्यानाकर्षण गराए।

नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर कृष्णभक्त दुवालले इको प्यानल तीव्र पुनर्निर्माणको पर्याय भएको बताए। इको प्यानलको प्रयोगबाट तीव्र पुनर्निर्माण सम्भव हुने उनले बताए। कारखानामा पहिला नै तयार पारेर निर्माणस्थलमा जोड्न मात्रै लगे पुग्ने भएकोले इको प्यानलको प्रयोगबाट तीव्र निर्माण सम्भव हुने उनले बताए। कार्यक्रमका सभापति एवं आयोजक संघका अध्यक्ष इश्वरबहादुर खड्काले फलामजन्य वस्तुमा काम गर्ने व्यवसायीहरुको विविध समस्याबारे चर्चा गरे।

Source: Nagarik Daily